प्रेस विज्ञप्ति

मिति: २०७७/०१/१९

लकडाउनको कार्यन्वयन गराउने क्रममा मिति २०७७ वैशाख १८ गते नवलपरासी जिल्लामा सशस्त्र प्रहरीको कुटाईबाट ३ जना गम्भीर घाईते भएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ |

नवलपरासी जिल्ला पाल्हीनन्दन गा.पा. वडा न. ५ बस्ने वर्ष ७० को पूर्णवासी गौंड सोही स्थान बस्ने वर्ष १४ को अखिलेश गौंड र वर्ष १६ को मुन्ना गौंड लाई भगतपुरवा गाउँ नजिको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी टोलीले लकडाउनको उल्लङ्घन गरेको आरोपमा कुटपिट गरेको कारण पूर्णवासी गौंड को पाखुरा भाँचिएको,  टाउको फुटेको ,अखिलेश गौंड को हात भाँचिएको र मुन्ना गौंड को कम्मर र टाउकोमा चोट लागेको पाइयो |

नेपालको संविधानको धारा २२ मा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम ,अमानवीय वा अपमानजनक व्यवहार नगरिने कुराको सुनिश्चितता गरेको छ साथै मानव अधिकारको विश्वब्यापी घोषणा पत्र, १९४८ को धारा ५ मा कुनै व्यक्तिलाई शारीरिक यातना दिइने छैन र क्रुर अमानवीय वा अपमानजनक व्यवहार तथा सजाय गरिने छैन भन्ने व्यवस्थाको बर्खिलाफ संविधान र कानुनको पालना गर्ने दायित्व भएका प्रहरी कर्मचारीहरुद्वारा लकडाउनको नाममा मानिसहरुलाई कुटपिट तथा यातना दिने कार्यले कानुनी शासनको उपहास भएको छ |

लकडाउनको क्रममा अति आवश्यक कामका लागि समेत घर बाहिर निस्कने मनिस हरुलाई प्रहरीद्वारा कुटपिट यातना दुर्व्यवहार, अमानवीय तथा अपमानजनक व्यवहार गर्ने कार्य बढ्न थालेपछि उक्त अमानवीय तथा अपमानजनक व्यवहार तत्काल रोक्नका लागि श्री सर्वोच्च अदालतमा रिट न. (०७६-WH-०९४१) को मिति २०७७.०१.११ गते माननीय न्यायधिश श्री दिपक कुमार कार्की र माननीय न्यायधिश श्री ईश्वर प्रसाद खतिवडा को संयुक्त इजलासले कुनै पनि भूमिकामा रहेको राज्यका कुनै पदाधिकारीले कुनै पनि व्यक्ति उपर कानून प्रतिकुल अमानवीय व्यवहार गर्नु हुदैन यस कुरामा राज्यका सबै सम्बद्ध निकाय विशेष रुपमा संवेदनशील रहनु आवश्यक हुन्छ , नेपाल सरकार गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको अवस्थामा समेत कुटपिट यातना दुर्व्यवहार, अमानवीय तथा अपमानजनक व्यवहार नरोकिनु अत्यन्तै गैरजिम्मेवारीपन तथा लोकतान्त्रिक शासन व्यवस्थाको उपहास हो |

यसरी नवलपरासी जिल्लामा सशस्त्र प्रहरीद्वारा सर्वसाधारणलाई कुटपिट गरिएको घटना नेपालको संविधानको धारा २२ ,मुलुकी अपराध ( संहिता ) २०७४ को दफा १६७ को विपरित कसुर गरेको हुनाले घटनाको अनुसन्धान गरी पीडकहरुलाई कानुनी कारवाही र पिडितहरुलाई आवश्यक क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं साथै कोरोना महामारीको यस संकट घडीमा संवेदनशील भई कुटपिट यातना दुर्व्यवहार, अमानवीय तथा अपमानजनक व्यवहार तत्काल रोक्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछौं |

 

————————–       —————————-                 ———————

अग्नि शक्ति यादव             शिवप्रसाद गौडेल                    रविन्द्रनाथ ठाकुर

संयोजक                      संयोजक                          अध्यक्ष

थर्ड एलायन्स, प्रदेश न.५        एड्भोकेसी फोरम ,प्रदेश न. ५          माहुरी होम. कपिलवस्तु