२०७७ साउन ९ गते
काठमाडौं, नेपाल
चितवन घटनाको निष्पक्ष छानबिन तथा दोषी उपर कारबाहीको माग !

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको यातनाबाट २०७७ साउन ७ गते एक जना युवककोे मृत्यु र अन्य ४ जना घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लंघन भएकोले घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानून कारबाही गर्न सरकार समक्ष माग गर्दछौँ ।
विभिन्न सञ्चार माध्यमहरूबाट प्राप्त जानकारी अनुसार चितवन जिल्लाको राप्ती नगरपालिका–२ मिलन टोल बस्ने २४ वर्षीय राजकुमार चेपाङको मृत्यु सेनाको निर्मम कुटपिटबाट भएको हो। साउन १ गतेचितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका सेनाले मृतकसहित ५ जना पुरुष र २ जना महिला गरी ७ जनालाई नियन्त्रणमा लिई कुटपिट गरी सोही दिन उनीहरूलाई स्थानीय प्रहरी प्रशासनलाई बुझाएका थिए । छुटेकाहरूमध्ये सेनाको यातनाका कारण राजकुमार बिरामी भई भरतपुर अस्पतालमा उपचारको क्रममा साउन ७ गते मृत्यु भएको थियो ।सेनाले नियन्त्रणमा लिई महिलाहरूबाहेक आफूहरूलाई कुटेको, मुढा ओसार्न लगाएको र सय पटकसम्म पुसअप गराएको भनाई मृतकसँगै कुटिएका सन्तलाल प्रजाको रहेको छ ।
यसैगरी, साउन ३ गते चितवन जिल्लाको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रमा २०५३ सालदेखि बसोबास गर्दै आइरहेका सुकुम्बासी चेपाङ समुदायको घरहरूमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै दुईवटा घरमा आगजनी गर्नुका साथै आठवटा घरहरूमा हात्ती लगाएर भत्काएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उल्लेखित घटनाहरूमा निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीत कार्य गरेको हाम्रो ठहर छ । नेपालको संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २२ मा यातनाविरुद्धको हक, धारा ३७ मा आवासको हक र धारा ४२ मा सामाजिक न्यायको हकलगायत मौलिक हक अधिकारहरूलाई सेनाको कार्यले कुण्ठित गरेको छ ।
साथै यसले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ र अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिको(कन्भेन्सन नं. १६९) लगायत नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनहरूमा उल्लेखित अधिकारहरूको समेत उल्लङ्घन गरेको छ ।
तसर्थ, यी घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवारलाई न्याय, उचित क्षतिपूर्ति र पुनस्र्थापनाको प्रत्याभूत गरी दोषीउपर कानून बमोजिम कारबाही गर्न माग गर्दछौँ ।

 

मोहन कर्ण

कार्यकारी निर्देशक

थर्ड एलायन्स

 

ओम प्रकाश सेन ठकुरी

निर्देशक

एड्भोकेसी फोरम नेपाल

 

विजयराज गौतम
कार्यकारी निर्देशक
अनौपचारिक क्षेत्र  सेवा केन्द्र(इन्सेक्र)

पिडिएफका लागि ः Joint Press Statement on Chitwan-AF+THRDA+INSEC