सप्तरी जिल्लाको मलेठमा मिति २०७३ फागुन २३ गते पाँच जना सर्वसाधारण जनताको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको तथा अन्य थुपै्र व्यक्तिहरु घाइते भएको घटनाको सम्बन्धमा छानविन गर्नका लागी प्रदेश नम्वर २ सरकारले एक छानविन समिति गठन गरेको निर्णयलाई तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) स्वागत गर्दछ ।
प्रदेश नम्वर २ सरकारको मन्त्री परिषदको मिति २०७५।४।५ गते सोमबार बसेको बैठकले मलेठ घटना छानविनका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय कमिटी गठन गरेको छ । समितिमा समाजिक विकास मन्त्री नवल किशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहसमेत रहनु भएको छ । छानविन समितिको सदस्य समितिको सदस्यसचिवमा प्रदेश नम्वर २ का मुख्यन्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता कृष्ण प्रसाद बराललाई राखिएको छ ।
समितिले १५ दिन भित्र मलेठ घटनाको निष्पक्ष छानविन गरि मन्त्री परिषदमा प्रतिवेदन प्रस्तुत गर्नेछ ।
सप्तरी जिल्लाको मलेठ गाउँ नजिकै रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र भित्र ने.क.पा. (एमाले) को सभालाई लोकतान्त्रिक मधेशी मोर्चाले अवरोध गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाएपछि पाँचजनाको मृत्यु हुनुका साथै कैयौ मानिस घाइते भएका थिए । .
यसै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, नेपालले यही असार ३२ गते मलेठ घटनाका बारेमा प्रतिवेदन सार्वजनिक गरेको थियो तर प्रतिवेदनमाथि चौतर्फि आलोचना भएपछि प्रदेश नम्वर २ सरकारले छुट्टै छानविन गर्ने निर्णय गरेको हो ।
यसरी प्रदेश नम्वर २ सरकारले गठन गरेको उक्त छानविन समितिले आफनो निष्पक्षता, पारदर्शीता कायम राख्दै विश्वसनिय ढंगले छानविन गरि पीडितलाई न्याय र दोषी पाइएकालाई कानून बमोजिम कारवाही गर्न समर्थ हुने कुुराको सुनिश्चितता होस भन्ने तराई मानव अधिकार रक्षक संजालले अपेक्षा समेत गर्दछ ।