नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन मनाउने क्रममा विरोध स्वरुप शान्तिपुर्ण तरिकाले गरिएको प्रदर्शन तथा सभाबाट सयौँ प्रदर्शनकारीहरुलाई गैरकानूनी तरिकाले पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

संविधान जारी गर्ने क्रममा तराई मधेसमा संविधानमा असहमति जनाउदै भएको चरणबद्ध आन्दोलनलाई बेवास्ता गरी मिति २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो । जस कारण उक्त दिन विरगंजमा अत्यधिक बल प्रयोगबाट एक जना प्रदर्शनकारी मारिएका थिए भने संविधान जारी हुुनुअघि र पछि विभिन्न ठाउँमा पचासौँ जना मारिनुको साथै सयौँ प्रदर्शनकारीहरु घाइते भएका थिए । जसले गर्दा उक्त दिनलाई मधेसी, जनजाती लगायत अल्पसंख्यक तथा सिमान्तकृत समुदायहरुले संविधान र सरकारको स्वेच्छाचारी कार्यको विरोध स्वस्प विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

सोही क्रममा आज काठमाण्डौँको माइतीघरबाट करिब २५ जना अधिकारकर्मी, सप्तरीको भारदहबाट २ जना, राजविराजबाट १ जना, जनकपुरको विभिन्न चौकबाट करिब एक सय जना, पर्साबाट ७ जना, बाराबाट ९ जना, नवलपरासीबाट ५ महिलासहित २० जना, रौतहटबाट ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई स्वेच्छाचारी ढंगले पक्राउ गरी गैरकानूनी तरिकाले हिरासतमा राखिएको पाइयो । यसरी प्रहरीले गैरकानूनी तरिकाले पक्राउ गरिएको कार्यबाट विचार अभिव्यक्ति स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र न्यायको हक लगायतका संविधान प्रदत्त मौलिक हकमा आघात परेको छ ।

तसर्थ, निजहरुलाई तत्काल विना शर्त थुनामुक्त गरी मानवअधिकारको संरक्षण तथा संवद्र्धन गर्नको लागि नेपाल सरकार लगायत सम्बन्धित सम्पुर्णलाई थर्ड एलायन्सले आग्रह गर्दछ ।
………………….
रक्षाराम हरिजन
मिडिया तथा संचार संयोजक

मितिः २०७५ असोज ३ गते