मिति २०७५ चैत्र १० गतेदेखि देशभरी संचालन हुदै आएको एस.ई.ई. परीक्षाको क्रममा प्रदेश नं. २ मा मिति २०७५ चैत्र १४ र १५ गते विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र अनधिकृत रुपमा परीक्षा संचालन हुनु पुर्व नै बाहिर आएको कारण देखाउदै राष्ट्रिय परिक्षा वोर्डले दुवै विषयको परिक्षा रद्द गरेपछि परीक्षार्थीहरु आक्रोशित भई प्रदेश नं. २ का विभिन्न स्थानहरुमा तोडफोड, आगजनी, प्रदर्शन लगायतका घटना भएको र त्यसलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीहरुबाट समेत अश्रुग्यास, लाठी चार्ज जस्ता बल प्रयोगका घटना भएको समाचारप्रति तराई मानव अधिकार रक्षक संजालको ध्यानाकर्षण भएको छ ।

शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार हो । एस.ई.ई. परीक्षाको क्रममा भएका कुनैपनि अनियमितता वा धाँधली जसबाट विद्यार्थीहरुमा मानसिक तनाव हुने वातावरण बनेको छ यसलाई गम्भीरतापुर्वक छानविन गरि दोषीहरुलाई आवश्यक कानुनी कारवाही गरियोस । जो जस निकायको जिम्मेवारी हो र जहाँबाट त्रुटी भएको छ त्यसको सत्य तथ्य सार्वजनिक गरि जवाफदेहिता सुनिश्चित गरियोस् र अव उप्रान्त यस्तो घटना नदोहोरिने प्रत्याभूति गरियोस् ।

साथै प्रदर्शन, तोडफोड र बल प्रयोगका कुनैपनि घटनाबाट स्थिति थप तनावग्रस्त हुने र धनजनको क्षति पुग्न जाने भएकोले यसप्रति विद्यार्थी, अभिभावक, शिक्षक, प्रशासन लगायत सम्पुर्ण सरोकारवालाहरु संवेदनशील भई विषयको गाम्भीर्यतालाई ध्यानमा राखी छलफल तथा संवादमार्फत उचित निकास निकालियोस् भन्ने सम्पुर्ण सरोकारवालाहरुसंग अपिल गर्दछौं ।

मिति: २०७५ चैत्र १५ गते

………………..

रक्षाराम हरिजन

संचार संयोजक

Please see pdf file: Press Release on SEE Exam_THRD_Alliance