मिति २०७५ माघ २१ गते

जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासतमा शंकास्पद मृत्यु भएका राम मनोहर यादवको श्रद्धाञ्जली दिन जाने क्रममा करिब ३६ जना मलामीहरुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले गैरकानूनी तरिकाले पक्राउ गरेको कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

राम मनोहर यादवलाई श्राद्धन्जली दिन जाने गरेका बाँकेका रियाज अन्सारी, देवराज मौर्या, विष्णु तम्बोली लगायतका ३६ जनालाई गैरकानूनी तरिकाले पक्राउ गरी हिरासतमा राखिएको अनुगमनबाट देखिएको छ ।

पाँच महिनाअघि प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको शव परिक्षणको लागि शिक्षण अस्पताल, काठमाण्डौमा राखिएको थियो । परिवारले राम मनोहरको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै शव बुझेका थिएनन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा न्यायिक उपचारको लागि मुद्दा दर्ता भएपछि हिजो निजको दाईले शव बुझि सद्गतको लागि आफ्नो घर बाँकेमा लैजाने क्रममा कोहलपुरमा जिल्ला प्रहरी कार्यालय, बाँकेले शव समेत नियन्त्रणमा लिएको अनुगमनको क्रममा पाइएको छ ।

यसरी परिवारजनले शवलाई अन्थेष्ठी गर्न घर लैजाने क्रममा शवलाई नियन्त्रणमा लिनु र शान्तिपुर्ण तरिकाले श्राद्धन्जली दिने जाने व्यक्तिहरुलाई बिना कसूर गैरकानूनी तरिकाले पक्राउ गर्ने कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएको तथा शासनको उपहास भएको छ ।

तसर्थ गैरकानूनी तरिकाले पक्राउ गरिएको व्यक्तिहरुलाई तत्काल रिहा गरी भयरहित वातावरणमा शवको अन्थेष्ठी गर्ने सहज वातावरण सिर्जना गरी मानवअधिकारको संरक्षण तथा सम्मान गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज, पत्रकार, मानवाधिकारसँग सम्बन्धित संघसंस्था लगायतका सम्पुर्ण सरोकारवालाहरुसँग आग्रह गर्दछौं ।

रक्षाराम हरिजन

संचार संयोजक

Statement on Ilegal arrest