संयुक्त प्रेस वक्तव्य

२०७७ भाद्र ११ गते

रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं ८ का विजय महराको ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा चरम यातना पश्चात उपचारको क्रममा मुत्यु भएको भनिएको घटना प्रति हामी मानव अधिकार र कानूनी शासनको क्षेत्रमा क्रियाशिल मानव अधिकारवादी संघसंस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

मिति २०७७ श्रावण ३१ गते रौतहट जिल्ला, गरुडा नगरपालिका वडा नं ८ का निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । उक्त हत्या आरोपमा पक्राउ परेका विजय महरालाई ईलाका प्रहरी कार्यालय गरुडाको हिरातमा राखेको थियो । बिजयका बुवा पनिलाल महराका अनुसार “हिरासत कक्षमा पक्राउ पश्चात आर्थिक प्रलोभनमा परि वास्तविक दोषीलाई जोगाई मेरो छोरालाई फँसाउर्न साविती बयान दे’ भन्दै प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र अन्य ३ जना नाम, थर, दर्जा थाहा नभएका प्रहरीहरुले मेरो छोराको टाउको, पिठ्यँु, खुट्टा, कम्मर र हिपमा लाठी, बुट, मुक्का र प्लास्टिकको पाइपले पटक पटक गरी तीन दिन सम्म घोप्टो पारि, उल्टो झुण्डयाई, कुटपिट गरी, खुट्टा र पिठ्यँुमा करेन्ट समेत लगाई शारीरिक यातना दिएको कारण मेरो छोरा विजय महराको मृगौला तथा टाउकोमा गम्भिर चोट लागि पिसाब फेर्दा रगत बग्ने भएको थियो । यातनाका चोटको कारण मेरो छोरा वेहोस भएपछि ईलाका प्रहरी कार्यालय गरुडाले पर्सा जिल्लाको बिरगञ्ज स्थित नेशनल मेडिकल कलेजको आईसियु वार्डमा उपचार गराइरहेको अवस्थामा मिति २०७७ भाद्र ११ गते राति अन्दाजी १ बजे मृत्यु भएको हो ।”

आरोपित डिएसपी ज्ञान कुमार महतोले विभिन्न पत्रपत्रिकामा निज बिजय महरा किड्नीको बिमारी भएको र सोही रोगका कारणले उपचारका क्रममा उनको मृत्यु भएको र प्रहरीले यातना नदिएको दाबी गरे पनि पीडितका परिवारले पक्राउ अघि बिजय महरा स्वस्थ रहेको र उनलाई किड्नी लगायत कुनै पनि रोग नलागेको दाबी गरेका छन् भने उपचारका क्रममा रहेको छोरालाई अस्पतालमा भेट्न जाँदा पनि प्रहरीले भेट गर्न नदिएको गुनासो गरेका छन् । गरुडा स्थित अनमिका अस्पतालका डाक्टर आरबी प्रसादले पनि बिजयको दिशा तथा पिसाबमा रगत देखिए पछि थप उपचारका लागि बाहिर लैजान सुझाव दिएको बताएका छन् ।

त्यसैले यस घटनाको निश्पक्ष छानविन गर्न, दोषीलाई कानून बमोजिम कारबाही गर्न, पीडितको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र भविष्यमा यस्ता घटनाहरु नदोहोरिने सुनिश्चितता गर्न सरकार समक्ष जोडदार माग गर्दछौं । मृतक विजय महरालाई शारीरीक यातना दिइएको कारण निजको मृत्यु भएको आरोप लागेको अवस्थामा मृत शरीरको पोष्टमार्टम फोरेन्सिक विशेषज्ञबाट गराई निष्पक्ष अनुसन्धान प्रकृया अगाडि वढाउन समेत माग गर्दछौ । मृतक विजय महरासंगै पक्राउ परेका र हालसम्म थुनामै रहेका थुनुवाहरुसँग मानव अधिकारकर्मीहरुको भेटघाट सुनिश्चित गरि मानव अधिकार अनुगमनमा सहयोग गरिदिनहुन समेत सम्बन्धित सरोकारवालाहरुसँग आग्रह गर्दछांै ।

साथै, विगतका यस्ता घटनाहरु माथि निश्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाही नहुने गरेको र राज्यका जिम्मेवार निकायका पदाधिकारीहरु नै दोषीलाई कारबाहीवाट जोगाउन लागि पर्ने गरेकोले नेपाल प्रहरी संलग्न यस्ता घटनाहरु पटक पटक घटिरहने गरेको छ जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबी नराम्रो हुने गरेको तर्फ सम्बिन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।
यस्ता घटनाहरुको संख्यामा पछिल्ला केहि दिनहरुमा वढोत्तरी हुँदै गएको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, महान्याायाधिवक्तको कार्यालय, प्रदेश स्थित मुख्य न्यायाधिवक्ताको कार्यालय लगायतका सम्बन्धित सरोकारवालाहरुलाई समेत प्रभावकारी रुपमा हिरासत अनुगमन, हिरासतमा हुने मानव अधिकार उल्लंघनका घटनाहरुको छानविन तथा कानुनी कारवाही सुनिश्चित गर्न समेत माग गर्दछौं ।

घटनाको पुष्ठभूमि ः
रौतहट जिल्ला गरुडा न.पा वाड नं. ८ स्थित नन्दलाल रामको छोरा बर्ष १७ को निरन्जन राम विगत ६ बर्ष देखी गरुडा स्थित सच फलफुल नर्सरीमा काम गर्दै आएको र दिनहुँ काम गर्ने क्रममा कहिले घर जाने तथा कहिले नर्सरी मै बस्ने गर्दै आएकोमा मिति मिति २०७७ श्रावण ३१ गतेका दिन काम गर्न गएको र बेलुका घरबाट आमाले बोलाउन जाँदा नर्सरी मालिकले आज बर्थडे छ, यही खान्छ र बस्छ । भोली घर आउँछ, तपाई चिन्ता नलिनुस भनेपछि निरन्जन रामको आमा घर फर्केको तर भोली पल्ट बिहान उक्त नर्सरी पछाडी निरन्जन रामको विभत्स तरिकाले घाँटी रेटि हत्या भएको भेटिएको थियो ।

मृतकका पिता नन्दलाल रामले नर्सरीका साहु राजाराम साह, लखन साह बनिया, राजगिर साह बनिया र शेख आजाद समेत गरी ४ जनाको नाममा जाहेरी दिए पनि प्रहरीले ति मध्य ेआजाद शेखलाई मात्रै पक्राउ गरेको छ । राजाराम साह, लखन साह बनिया, राजगिर साह बनियाका नाममा जाहेरी नदिन प्रहरीले मृतक परिवारलाई दबाब दिएको थियो जसले गर्दा भाद्र २ गते प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

चरण प्रसाई
संयोजक
जवाफदेहिता निगरानी समिति

ओम प्रकाश सेन ठकुरी
निर्देशक
एड्भोकेसी फोरम

मोहन कर्ण
कार्यकारी निर्देशक
तराई मानव अधिकार रक्षक सञ्जाल

पिडिएफ डाउनलोड गर्न ः Joint-Press-Statement-On-Suspicious-Death-of-Bijay-Mahara-in-Rautahat-Nepal