मिति २०७६।३।१५ गते प्रदेश नं. २ को सर्लाही जिल्ला स्थित पूर्व–पश्चिम राजमार्गको बॉके चोकमा स्थानियवासीले गरिरहेकोको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका –१३ निवासी २६ बर्षीय देवन महतोको मृत्यु भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सो क्रममा अन्य तीन जना गम्भीर घाइते भएको अनुगमनको क्रममा पाइएको छ । झडपका क्रममा ५५ वर्षिय वडा अध्यक्ष समेत रहेका राम करण महतो, २५ वर्षिय राज कुमार महरा तथा २६ वर्षिय रेखा मण्डल गम्भिर घाइते भएका छन् ।

सर्लाही र महोत्तरीको सिमामा रहेको बॉके नदीमा बालुवा र गिट्टी निकाल्न खनेको करिब २० फिट गहिरो खाल्डोमा ईश्वरपुर नगरपालिका–१३ का लालो रायका १२ वर्षिय छोरा अमित राय मृत अवस्थामा आईतबार फेला परेका थिए । खोलाबाट बालुवा गिट्टी निकाली खाल्डो बनाइ त्यसको व्यवस्थापन नगरेको उक्त खाल्डोमा निज बालकको डुबेर मृत्यु भएको हुँदा प्रशासन तथा स्थानीय निकायसंग क्षतिपूर्ति तथा न्यायको माग गर्दै पीडित परिवार लगायतका स्थानीयवासीहरुले राजमार्गमा प्रदर्शन गरिरहेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपको क्रममा प्रहरी प्रचलित कानून विपरित अचानक गोली प्रहार गरी हत्या गरेको पाइयो ।

नागरिकको वाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने दायित्व बोकेको राज्यको सुरक्षा निकायबाट नै पटक पटक सर्वसाधारण नागरिकको हत्या हुनु गम्भीर मानवअधिकारको उल्लंघन हो । तसर्थ नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानुनहरुले व्यवस्था गरेका मानव अधिकार संरक्षणप्रतिको नेपाल राज्यको दायित्वलाई पुनःस्मरण गराउँदै यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारवाही तथा पीडित परिवारलाई न्याय सुनिश्चित गरी राहत तथा क्षतिपुर्ति प्रदान गरियोस भन्ने आग्रह समेत गर्दछौ ।

विनोद कुमार महरा

प्रादेशिक संयोजक

प्रदेश नं. २, जनकपुर