प्रेस विज्ञप्ती
२०७६ मंसिर २५

नागरिक दैनिकका खेलकुद पत्रकार सुमन चापागाईमाथि मिति २०७६ मंसिर २४ गते नेपाल प्रहरीबाट भएको निर्घात कुटपिट तथा यातनाप्रति तराई मानव अधिकार रक्षक संजालको गम्भिर ध्यानाकर्षण भएको छ ।
१३ दक्षिण एसियाली खेलकुदको समाचार संकलनका क्रममा चापागाईले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रवेशद्वार नजिकै तस्बिर खिचिरहेका बेला चारजना प्रहरीले अपशब्द प्रयोग गर्नुका साथै हात, मुक्का र बुट प्रयोग गरी निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दशरथ रंगशालाभित्र सांसद ११ र कर्मचारी ११ बीचको मैत्रीपूर्ण फुटबल खेल भइरहँदा राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रवेशद्धार नजिकै दर्शकहरुमाथि प्रहरीले हातपात गरिरहेको तस्बिर लिने क्रममा प्रहरीले पत्रकार चापागाईमाथि कुटपिट गरेका हुन् ।
प्रत्यक्षदर्शीले तराई मानव अधिकार रक्षक संजालको अनुगमनकर्तालाई दिएको जानकारी अनुसार पत्रकार चापागाईमाथि हात, खुट्टा र बुट प्रयोग गरि प्रहरीले निर्घात कुटपिट गरेको हो । प्रत्यक्षदर्शीका अनुसार नेपाल प्रहरीका डिएसपी सन्तोष सिंह राठौर र रुगम कुवर तथा अन्य दुई जना प्रहरी कुटपिटमा संलग्न रहेका थिए ।
कुटपिटबाट पत्रकार चापागाईको दाहिने कानबाट रगत बग्नुका साथै गाला सुनिएको तथा खुट्टा र छातीमा चोट लागेको छ । राष्ट्रिय खेलकुद परिषद्को स्पोर्टस मेडिसिन एन्ड रिसर्च सेन्टरमा गरिएको प्रारम्भिक उपचारपछि त्रिपुरश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको छ ।
त्यसैले तराई मानव अधिकार रक्षक संजाल पत्रकार चापागाईलाई कुटपिटको घटनालाई निस्पक्ष छानविन गर्नुका साथै दोषीमाथि कानून बमोजिमको सजाय तथा पीडितलाई उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार, नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय मानव अधिकार आयोग समक्ष आग्रह गर्दछ ।

संजीव कुमार शाह
मानव अधिकार अधिकृत
Press Release on torture