जेठ २०

रौतहट जिल्ला क्षेत्र नम्वर २ परोहा नगरपालिका–८ नरकटिया, मोतीपुर निवासी तथा वडा सदस्य दिपेन्द्र पटेलले एक वृद्धा र उनकी बुहारीलाई जेठ १५ गते कुटपिट गरेका छन् ।

निज वडा सदस्यले बाटो निर्माण कार्यका क्रममा एकैतिरबाट जमिन च्यापेर एकहोरो बाटो निकालेको भन्दै सन्तोष पटेलकी ७५ वर्षीया आमा अनिया देवी र २८ वर्षीया श्रीमती चिन्ता कुमारी पटेलले विरोध गरेपछि वडा सदस्यले दुबैलाई कुटपिट गरेका हुन् ।

वडा सदस्यले “म जे गर्छु, त्यो काम अवरोध गर्ने तिमीहरु को हो?” भन्दै ती दुई महिलालाई कुटपिट गरेको कुरा पीडितहरुले थर्ड एलायन्सलाई जानकारी गराएका हुन् ।

वडा सदस्यको कुटाईबाट दुबैजना गम्भीर घाइते भएपछि उपचारका लागि विरगंजस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

पीडकले चार महिनाको गर्भवती रहेकी चिन्ता कुमारीको पेटमा खुट्टाले हिर्काएको कारण पीडितको गर्भपतन भएको छ ।

घटनामा संलग्न मुख्य अभियुक्त वडा सदस्य दीपेन्द्र पटेल र मटिअर्वा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय सिकेन्द्र पटेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, गौरमा थुनामा राखिएको छ ।

तर पीडित परिवारले दोषीलाई कारवाहीको माग गर्दै दिएको जाहेरी जिप्रकाले टेवलमै थन्काएर राखेको तथा प्रहरीहरुले मुद्दा दर्ता नगरेर दोषीलाई जमानतमा छोडी मुद्दा मिलाउने चलखेल गरेको आरोप पीडितहरुले लगाएका छन् ।

जिल्ला प्रहरी प्रमुख रविन्द्र केसीले भने प्रधानाध्यापक सिकेन्द्र पटेललाई दमको विमारी रहेको र उनी तीन दिनदेखि खाना पनि छोडेर विरामी परेकोले चेकजाँचको लागी जिल्ला अस्पताल गौर पठाउन लागेको बताए । घटना गम्भीर प्रकृतिको भएका कारण दुबैपक्षबाट राजनीतिक चलखेल तथा दबाव आईरहेको प्रहरी उपरिक्षक केसीले बताएका छन ।