विनीता मरहट्टा सोमवार, साउन ३१, २०७३
raksha-ram-57b13f6779fc31.96303300
काठमाडौंः मधेसमा समस्या धेरै छन् । स्वास्थ्य, शिक्षा, रोजगार अरू पनि धेरै । ‘मधेसी’ त्यसमाथि पनि ‘दलित’, रक्षाराम हरिजन चमारलाई समाजसँग लड्न कम चुनौती थिएन । उनी कपिलवस्तुको बाँसखोर गाविस ६, सानो कर्मगाउँको दलित समुदायबाट उच्च शिक्षा हासिल एक्ला हुन् ।
१९ वर्षकै उमेरमा गाउँमा प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षाको महत्व बुझाउने काम गरे । दलित समुदायको भए पनि शिक्षा हासिल गर्न उनको परिवारले प्रोत्साहन गर्‍यो । शिक्षित भएकै कारण लडेरै भए पनि विद्यालयको प्रधानाध्यापक हुन सके ।
गाउँका ठूलाबडा र ‘उपल्लो जात’का भनिनेहरूलाई यो कुरा सह्य भएको थिएन । अप्रत्यक्ष रूपमा जातीय विभेद भइरहे पनि उनका अगाडि आएर कसैले विरोध गर्ने आँट गरेन । चार वर्ष बिनातलब विद्यालयमा सेवा गरेपछि उनले मधेस मानवअधिकार गृह ‘माहुरी होम’ मा ‘असिस्टेन्ट को अर्डिनेटर’ को काम गरे । मानवअधिकारका लागि वकालत गर्ने, सचेतना फैलाउन थाले ।
‘रिफ्लेक्ट’ कार्यक्रमअन्तर्गत समाजका समस्या र तिनको निदान पनि त्यहीँबाट खोजे । यो कार्यक्रमले समुदायलाई आफ्ना अधिकारमाथि आफैं उत्तरदायी बनाउन सघायो । आर्थिक अप्ठेराको बीचमा संघर्षसँगै उनले पढाइ अघि बढाइरहे ।
कानुन विषयमा स्नातक तह सकेर बसेका रक्षाराम ‘तराई ह्युमन राइट डिफेन्डर अलाइन्स’ बाट समावेशीका मुद्दाहरूमा काम गर्दै आएका छन् । उनी भन्छन्, ‘ब्रोड लेभलमा फाइट गर्नको लागि कानुन पढेँ, अदालतमा मुद्दा पुर्‍याएर फाइनल गराउने कामका लागि प्रतिबद्ध छु ।’
संविधान निर्माण प्रक्रियामा संघीयतालाई टुंगो नलगाई अगाडि बढ्ने दलहरूको सहमति भएपछि विजयकान्तलाल कर्ण र रीता साहसहित रक्षारामले सर्वोच्च अदालतमा रिट दायर गरे ।
final hamrotools
अदालतले अन्तरिम आदेशअनुसार संविधानमा संघीयता सुनिश्चित हुने बाटो खुलेको थियो । अधिकारको लडाइँमा यो उनको उल्लेख्य सफलता हो ।
समग्र तराईमा अध्ययन समूह खडा गर्ने २८ वर्षे रक्षारामको अर्को इच्छा हो । जसले ठाउँठाउँको समस्या र त्यसको समाधान खोज्नेछ । उनी चाहन्छन्, ‘यो अनौपचारिक संगठन राजनीतिभन्दा टाढा रहोस् र एनजीओको स्वाद पनि नआओस् । दलित विद्यार्थीलाई कानुन पढ्न सहयोग गर्ने उनको अर्को योजना छ ।
भन्छन्, ‘तराईका दलित जातीय, सामुदायिक, कानुनी र प्रशासनिक, भाषागत र दलितभित्रैको वर्गले गर्दा पछाडि परेका छन्, यही समुदायका युवालाई कानुन विषय पढाउन सकियो भने ब्रोड लेभलमा फाइट गर्न सक्छन् ।’

साभार: http://www.annapurnapost.com/news/53665