Search
Wednesday 13 December 2017
  • :
  • :

मलेठको वेदनाः जहाँ मेहन्दी नसुक्दै सिन्दुर पुछियो !

बहसः एमालेको अभियानले समाजलाई जोड्यो कि तोड्यो ?

अधिवक्ता दिपेन्द्र झा

सप्तरीमा भएको प्रहरी फायरिङमा मारिएका सञ्जन मेहताको नौ महिना अगाडिमात्रै बिहे भएको थियो । उनकी श्रीमतीको हातको मेहन्दीको रङ्ग सुक्न नपाउँदै उनको सिन्दुर पुछियो । उनलाई सायद यो थाहा थिएन कि एमालेको मेची-महाकाली अभियानका कारण उनको सिन्दुर पुछिनेछ र उनको जीवन उजाड हुनेछ ।

सप्तरी घटनामै मारिएका अर्का पीडित बीरेन्द्र महतोका तीन साना छोरी र एक दूधे बालकले पनि सप्तरीमा भएको घटनाले उनीहरुका बुबालाई सँधैका लागि खोस्ने कुरा कहिल्यै सोचेका थिएनन् । छोराछोरीहरुका लागि चकलेट लिन गएका बाबुको लास पो घरमा आयो !
महतोका साना छोराछोरीले बाबुलाई सँधैका लागि गुमाएका छन् । तिनलाई हेर्दा मैले मेरी छोरी आर्यलाई सम्झें । म नहुँदा उनी कस्ती हुन्छे भनेर । गोलीकाण्डको घटनापछि सप्तरी जाँदा मेरो छेउमा नेता उपेन्द्र यादव रहेकाले म डाँको छोडेर रुन पनि सकिनँ ।

ससुरालीमा बसेका बीरेन्द्र महतोका ससुरा ज्यादै बुढो भइसकेका छन् । छाक टार्ने अब कुनै श्रोत छैन ।

सप्तरी घटनाको तेस्रो पीडित आनन्द साह स्वास्थ्यकर्मी अर्थात अहेब थिए, घटनाका बेला उनी आफ्नो क्लिनिकबाट फर्किदै थिए । मोर्चाको एमाले प्रतिरोधसँंग साहको खासै चासो थिएन । उनका सत्र बर्षे छोरा यही काठमाडौको सीआरसी कलेजमा प्लस टुमा पढ्दैछन् ।

एमालेको मेची-महाकाली अभियानले समाजलाई जोड्यो कि झन् धु्रवीकृत गर्‍यो ? वाकपटुताका धनी एमालेका नेताहरु ! सम्बन्धलाई भावनाले जोड्न नसकेपछि तर्कको कुनै अर्थ हुँदैन माहाशय !

तरबारको चोट त अचानोलाई मात्र थाहा हुन्छ । बाबु गुमाउनुको वास्तविक पीडा त यिनीहरुलाई पो थाहा छ । पीडितका सन्तानहरु तिनका बुबालाई प्रहरीले अनाहकमा जानीजानी मारेको बताउँछन् । घटना हुनुका पछाडिको राजनीति यिनलाई न थाहा छ, न मतलव नै ।

मृतक साहकी श्रीमती घरिघरि मुर्छित हुन्छिन् । उनका आँखा ओभाएका छैनन् ।

एमालेको मेची-महाकाली अभियानले समाजलाई जोड्यो कि झन् धु्रवीकृत गर्‍यो ? वाकपटुताका धनी एमालेका नेताहरु ! सम्बन्धलाई भावनाले जोड्न नसकेपछि तर्कको कुनै अर्थ हुँदैन माहाशय !

सामाजिक सद्भाव बढाउने र देशलाई एकतावद्ध गर्ने मूल उद्देेश्यका साथ सुरु गरिएको मेची-महाकाली अभियानले देश र मधेसलाई झन् धेरै ध्रुवीकृत र खण्डित पारेको छ ।

यो अभिायनको मूल उद्देश्य नै गलत थियो, किनभने एमालेले यो अभियानको मूल उद्देश्य भनेको संविधानको विषयमा मधेसी जनतामा रहेको भम्र चिर्नु रहेको बताएको थियो ।

संविधानको विषयमा मधेसी जनतामा कुनै भम्र छैन । बरु छ त केबल एमाले नेतृत्वमा, जसले हठ र दम्भ त्याग्न सकेको छैन । मेरो गोरुको बाह्रै टक्का भनेझैं संविधानमा भएका त्रृटि थाहा हुँदाहुँदा पनि मधेशमा मिसन संविधान साक्षरता चलाउन खोजेका थिए प्रमुख दलहरुले ।

अन्ततः एमाले नेताहरुले आफ्नो अभियान प्रान्त-२ अर्थात कोर मधेसमा परित्याग गरे । तर, पाँच जना मधेसीको ज्यान गएपछि मात्रै ।

जुन क्षेत्रलाई लक्ष्य गरेर अभियान डिजाइन गरिएको थियो, त्यही क्षेत्रमा अभियान स्थगित गर्नुपर्‍यो । हेटौडा र चुरे क्षेत्रमा गरिएको मेची महाकाली अभियानको त कुनै तुकै भएन । त्यहाँ त त्यसै पनि एमालेको भजनमण्डलीले संविधानलाई गीता, कुरान र त्रिपिटक मानेकै छन् नि ।

कोर मधेसलाई टारजेट गरिएको अभियान सप्तरीमा बगेको रगतसँगै एमालेले आफ्नो ‘लिमिटेसन’ र गल्ती अनुभुत गर्‍यो होला भन्ने धेरैले ठानेका थिए । तर, एमालेले आफ्नो दम्भी भाषण गर्न छाडेको छैन । मधेसका भोटर रिझाउन गएका एमाले नेताहरुले उनीहरुलाई झन चिढ्यााएका छन् । भनिन्छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी ।

एमालेले सभा गर्न पाउनुपर्छ भन्नेबारे

हरेक नेपाली संस्था वा पार्टीले देशको कुनै पनि कुनामा सभा सम्मेलन गर्न पाउँछ, यसमा कुनै दुईमत छैन । लोकतन्त्रमा जसरी सभा सम्मेलन गर्ने अधिकार हुन्छ, त्यस्तै विरोध गर्न पाउने अधिकार पनि संविधानले दिएको हुन्छ ।
तर सम्झौँ, सुर्खेत र इटहरीको घटना । इटहरीमा संघीय गठबन्धनले बनाएको मञ्चलाई एमालेका कार्यकर्ताले तोडफोड र आगजनी गर्दा प्रहरीले तिनलाई सुरक्षा प्रदान गरेका थिए ।

उपेन्द्र यादव सुर्खेतमा भाषण गर्न जाँदा अनेरास्ववियुका कार्यकर्ताले झण्डै कुटेका थिए । अझै पनि पहाडी एरियामा मधेसी मोर्चालाई विखण्डनकारी र भारतीय भनेर खेदिन्छ । तिनले कुनै पनि सभा सम्मलेन गर्न खोजे भने सुर्खेत र इटहरीमा त हुन दिइँदैन भने कोर पहाडी क्षेत्रमा मधेसी मोर्चाको शान्तिपूर्ण कार्यक्रम हुन देला जस्तो मलाई लाग्दैन ।
यसको मतलव, कदापी पनि कोर मधेसमा गैरमधेसी दल र पहाडमा मधेसी दलहरुलाई शान्तिपूर्ण कार्यक्रम गर्नबाट रोक्नुपर्छ भन्ने मेरो मनशाय होइन, त्यस्तो कुरा कहिल्यै पनि मान्य हुन सक्दैन ।

मेरो मतलव यति हो कि आज देशलाई यो अवस्थामा पुर्‍याउने पनि त मूलरुपमा एमाले नै जिम्मेबार छ । मधेसीहरुका हरेक जायज मागलाई भारतको इशारामा गरेको भन्ने, मधेसीहरुकी आमाले मधेसमा गर्भ बोकेकी होइन भनेर मधेसीहरुलाई विदेशी र बाहिरिया भन्ने, मधेसीहरुलाई पहिचानको कुरा गर्दा जहाँ-जहाँ सम्म छ, त्यहाँ मधेस देख्ने र त्यसो हो भने युपी बिहारलाई पनि मधेसमा मिलाउने जस्ता आक्रामक, दम्भी र उत्तेजक भाषण दिने तिनै एमालेका नेताहरु हुन् ।

इटहरीमा मञ्च जलाउने एमालेका कार्यकर्ताहरुलाई सुरक्षा दिएका प्रहरीले यता मोर्चाका कार्यकर्तालाई गिदी निस्किने गरी गोली हान्छन् भने पहाडीहरुको वर्चश्व रहेको सुरक्षा संयन्त्रले मधेसीहरुप्रति फरक व्यवहार देखायो भनेर जसले पनि भन्छ ।

राज्य संयन्त्रको फरक व्यवहारले मधेसलाई कश्मिरी पथमा लग्दैन भन्न सकिँदैन । राज्य संयन्त्रको फरक व्यवहार नभएको भए सन् २००७, २०१२, २०१५ र २०१७ मा २०० मधेसी युवाको आन्दोलनका क्रममा छाती र टाउकामा गोली लाग्ने थिएन होला ।

जीवनको महत्व पनि छालाको रंगअनुसार कसैको बढी र कसैको कम हुन्छ ? आनन्द साहकी श्रीमतीको पीडा कञ्चनपुरमा मारिएको गौतम परिवारको भन्दा कम हुन्छ त ?

स्थानीय प्रशासन ऐनको दफा ६, १ (क) ले पनि घुँडामाथि गोली चलाउने अनुमति दिँदैन । तर, किन मधेसमा चल्ने ८० प्रतिशत गोली छाती र टाउकोमा लाग्छ त ? यो प्रश्नको उत्तर हामीले खोज्ने कि नखोज्ने ? सभा सम्पन्न भई एमाले नेताहरु फर्किन थालिसकेको अवस्थामा गोली चलाउनुको औचित्य कुनै पनि हिसावले पुष्टि हुन सक्दैन । त्यसमा पनि सञ्जन मेहतालाई गन पाउन्ट नजिकबाट गोली हानिएको विषय पोष्र्टमार्टमको प्रारम्भिक प्रतिवेदनले पुष्टि गर्छ ।
यो जेकेटेड एसएलआर बुलेट दुश्मन देशसंँग वा सशस्त्र युद्धका बेलामा प्रयोग हुने हो । राइफल र एसएलआर बुलेट आफ्नै देशको आन्दोलन र मासलाई नियणत्रण गर्न प्रयोग गरिएको पुष्टि हुन सक्दैन ।

अब त मधेसीसंँग विभेदको बिषय दोश्रो प्राथमिकताको बिषय बनेको छ । पहिला त हामीलाई किन यसरी भेँडाबाख्रा जस्तो मारिन्छौं भन्ने पहिलो विषय बनेको छ । के पहाडी जिल्लामा विरोधको आन्दोलनमा यसरी खप्पड उड्ने गरी एसएलआर बुलेट चलाएको भए, काठमाडौको प्रतिकृया यही हुन्थ्यो त ? जीवनको महत्व पनि छालाको रंगअनुसार कसैको बढी र कसैको कम हुन्छ ? आनन्द साहकी श्रीमतीको पीडा कञ्चनपुरमा मारिएको गौतम परिवारको भन्दा कम हुन्छ त ?

प्रत्येक मधेसीको हत्याले नेपाली राज्यसँगको मधेसीको सम्बन्धको एक-एक धागो चुँड्दै गइरहेको छ । बढाउ, कति संख्या बढाउछौँ ।
सप्तरीको मलेठमा विभिन्न शक्तिकेन्द्रहरुले चलखेल गर्ने मौका पाएका होलान् । दम्भ यात्रालाई एमालेलाई पाठ सिकाउने अवसरका रुपमा प्रयोग गरेका होलान्, तर अन्ततः मारिने को हुन् त ? आखिर ती सर्वसाधारण मधेसी जनता नै हुन् । के तिनको जीवनको कुनै मूल्य छैन ? सबै शक्तिकेन्द्रले मधेसलाई नै प्रयोगशाला बनाउने हो र त्यसका लागि हामी मरिदिनुपर्ने ?

मोर्चाले कार्यक्रम गर्न दिएन, यो त फासीवादी भयो भन्नेहरु शोकमा डुबेको टोलमा रमिते नाच लाउनुजस्तै हो । जति मान्छे मारिन्छ, शान्तिपूर्ण आन्दोलनबाट अधिकार पाउन सक्ने आशहरु त्यति नै कमजोर भएर जान्छन् ।

मोर्चाका नेता पनि के कम । काठमाडौंबाट मधेसमा आन्दोलन गर्ने फतवा जारी गर्‍यो र आफू बालुवाटार बैठकमा व्यस्त । यो भनेको स्यालले पाकेको आँपको बोटमुनि कुरेर कतिबेला आँप झर्ला र खाउँला भनी ज्यान फालेको कथा जस्तै हो ।
संविधान संशोधनको बहस गर्दागर्दै मधेसमा परित्यक्त भएको अनुभूति र आक्रोश धेरै धेरै बढिसकेको छ । अब त सेना र प्रहरीमा १० हजार मधेसी युवाको कम्तिमा पनि प्रवेश, मधेसीलाई गोली प्रहार गरी मार्नेलाई खोरमा थुन्ने प्रत्याभूति, मारिएका र घाइते सम्पूर्ण परिवारका लागि गृह मन्त्रालये छुट्टै नियामावली बनाएर सम्पूर्ण भरण पोषणको जिम्मा राज्यले लिनु पर्दछ ।

मधेसमा दुई प्रदेशसहित विशेष स्वायत्तताको अधिकार दिने अर्थात केन्द्रमा आधा र प्रदेशमा स्वायत्तता सहित समानुपातिक समावेशीलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न अब ढिलाइ गर्नुहुँदैन ।

अन्यथा, मधेसलाई काश्मिरीकरणको बाटोमा जानबाट रोक्न ग्राहो छ । मैले भन्दा कर्ण अपि्रय होला, तर तीतो औषधि स्वास्थ्यका लागि लाभदायक हुँदा आमले नाक थुनेर खुवाएको याद छ ।

नेपाली राज्यका स्थायी सत्ताले जति नै क्षमा मागे पनि सप्तरीको मलेठले भोगेको क्रुरताको पीडा यो पुस्तामा हटाउन ग्राहो छ । मधेसमा समानता, पहिचान र स्वायत्तताका लागि मानिस लड्ने ग्राउण्ड तयार छ, नेतृत्वकर्ता हिच्किचाएको हुनाले मात्रै अल्मलिएको हो ।

२०७३ चैत २ गते १३:१८ मा प्रकाशित

Share on......




Leave a Reply

Your email address will not be published.